
१३ साउन, काठमाडौं । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा पोखरामा सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ ।
क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप हालै सम्पन्न भएको हो । वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए ।
सो वर्कशपमा युवाहरुलाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम बनाउने, सो अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न सक्ने बनाउने,लक्ष्य तथा उद्देश्य तय गर्न सीप प्रदान गर्ने र कुनै पनि युवा अभियानको लक्ष्य निर्धारण गर्न सिकाउने विषयमा छलफल भएको थियो ।
गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमहरुको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले सो वर्कशप आयोजना गरिएको आयोजकको भनाइ छ ।
युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सञ्चालन गरेको सो वर्कशपमा गण्डकी विश्व विद्यालयका असिस्टेन्ट प्रोफेसर सोनाम लामा,मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नेपाल अटोमोबाइल्स एसोसिएसन,मार्सल तथा टेनिङ कमिसनका सचिव आशीष रौनियार लगायतले आफ्ना धारणा राखेका थिए ।
सहभागीहरुलाई १० समूहमा विभाजन गरी उनीहरुको समूहगत प्रस्तुति समेत गरिएको थियो । प्रस्तुतिका आधारमा गण्डकी विश्वविद्यालयको टिम उत्कृष्ट प्रस्तुति गरि पुरस्कृत भएको थियो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने बताइएको छ ।
सो वर्कशपमा पोखरा महानगर खेलकुद विकास समिति तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपक गोदारले यस किसिमको कार्यक्रमले युवाहरुका लागि सडक सुरक्षाको विषयमा जानकारी लिन सहज हुने बताए ।
सहभागीहरुले वर्कशप आफूहरुका लागि निकै प्रभावकारी भएको र आगामी दिनमा सडक सुरक्षा तथा अन्य क्षेत्रमासमेत कार्य गर्न सहयोगी बन्ने बताए ।
सन् २०१२ मा एफआईएका तत्कालीन अध्यक्ष जन टोडको नेपाल भ्रमणको अवसरमा सुरुवात गरिएको युथ फर रोड सेफ्टी इन नेपाल कार्यक्रम यो एक राष्ट्रव्यापी युवा अभियान हो ।यसले मोटरिङ नेपाल तथा नासा नेपालसँगको आवद्धतामा सडक सुरक्षा,सुरक्षित बालबालिका, सुरक्षित विद्यालय क्षेत्र अभियान,नेतृत्व विकास तथा खेलकुद र नवप्रवर्तनमा जोड्को विश्वास लिइएको छ ।
