आज अन्तर्राष्ट्रिय युवा दिवस,नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदै

२७ साउन, काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।‘दिगो विकास र सुनौलो भविश्यको सार ः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय युवा परिषदको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रमको आज बिहान ११ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको र मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।

नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

सन् १९९८ को अगष्ट ८–१२ मा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो । सोही सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ ।