युवामा सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

२७ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिएका हुन् ।

“आज अन्तर्राष्ट्रिय युवा दिवस ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्‍यो ।पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो ।यसले युवालाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
उनले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा,सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरे ।उनले भने “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ ।”

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ।२०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।