गौराको मुख्य दिन आज अठ्यावाली मनाइँदै,दुई दिन सार्वजनिक बिदा

१५ भदौ,सुदूरपश्चिम प्रदेश। खासगरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।

हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ।

सरकारले गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा(विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्।हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्।जानकारहरुका अनुसार तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यस अवसरमा महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।

गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ।

गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्।बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्,छोराछोरी र आफन्तजनको चिरायुसँगै दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्।भने,पुरुषहरूले पनि ठाडोखेल,ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्।

अटल सौभाग्य,समृद्धि,सन्तान र परिवारमा सुख,शान्ति हुने जनविश्वासका साथ सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन्।त्यसैले परदेशिएकाहरू पनि गौराका अवसरमा घर फर्किन्छन्।गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ।

केन्द्रिय सरकारले आज र प्रदेश सरकारले भोली बिदा दिएका कारण सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो।