
२१ भदौ,काठमाडौं ।सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने,अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको भनाइ थियो।
नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको पनि उनले जिकिर गरे ।
जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गरे ।
