मन्त्रीहरुको शपथ साढे ११ बजे

३० भदौ,काठमाडौं ।अन्तरिम सरकारका प्रमुख सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको आज बिहान साढे ११ बजे शपथ ग्रहण हुने भएको छ।राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो ।

शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ।अहिले टेन्ट राख्ने काम भइरहेको छ ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् ।अर्थ मन्त्रीमा रामेश्वर खनाल,गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको थियो।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ।

तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो। जुन ठाउँमा लगेर हामीले राखेका छौं,त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ।’

ओम प्रकाश अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन्।