
३१ भदौ,काठमाडौँ । निजी क्षेत्रलाई उच्च मनोबलका साथ आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलपश्चात सोमबार एक विज्ञप्ती जारी गर्दै मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् । आउँदै गरेको चाडपर्वलाई मध्य्नजर गर्दै आवश्यक खाद्यान्नलगायतका सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने पनि विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयले माग,आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न तथा नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकारवाला सबैलाई अनुरोध समेत गरेको छ ।

