सरकारले जेनजी स्मारक पार्क बनाउने

३० भदौ, काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा  ‘जेनजी स्मारक पार्क’  बनाउने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि ठाउँ भने तोकि नसकेको बताइएको छ । 

हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते (८सेप्टेम्बर) का दिन युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीले गोली चलाउँदा १९ जनाले र त्यसपछि अन्य व्यक्तिहरुसहित सो संख्यामा  मृत्यु भएको छ ।

त्यसमा  प्रदर्शनकारी ५९ जना,कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन् ।सरकारका अनुसार १३४ जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् ।