आज संविधान दिवस,सैनिक मञ्चमा पहिला जस्तो झाँकी नहुने

 ३ असोज,काठमाडौं ।संविधान दिवस –२०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।तर यो वर्ष भने अघिल्ला वर्षहरुमा जस्तो सैनिक मञ्चमा झाँकी प्रदर्शन नगरिने भएको छ।अहिलेको विषम राजनीतिक परिस्थितिका कारण झाँकी नगरिने जनाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।

असोज ३ गते नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

जानकारहरु धेरै वर्षअघिदेखि संविधान परिमार्जन गरेर अगाडी बढ्न पर्ने तर्क अघि सार्दै आइरहेका थिए ।तर राजनीतिक दलहरु यसमा चासो देखाएका थिएनन् । जेनजीको आन्दोलनपश्चात जेनजीहरुले समयानुकुल र जनताको हित हुने गरि यो संविधान संशोधन गरेरै अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याइरहेका छन्। 

संविधानविद्हरु  संविधान समय अनुसार परिमार्जन गरेर जानुपर्नै विषय भएको हुँदा यसलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताउँदै आएका छन् । कतिपयले त, देश र जनताको उत्थान र विकासको लागि संविधान बाधा बनेको भन्दै यसको पूर्नलेखनको आवश्यकता रहेको जिकिर गरिरहेका छन् ।