
४ असोज,काठमाडौं। भदौ २४ को भष्टाचार विरोधी जेनजी आन्दोलनमा उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल कुटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
तर कुटिने व्यक्ति पौडेल नभएर काठमाडौंको सामाखुशीमा रहेको ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन रहेको खुलेको छ।
सोही दिन बिहान रगत अभावमा आकस्मिक रक्तदानको आयोजना गरि आफ्नो अस्पतालमा अप्रेसन नभएपछि मनमोहन अस्पतालमा घाइते आन्दोलनकारीलाई पुर्याएर फर्कने क्रममा निर्घात कुटिएको उनले बताएका छन् ।उनी आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको त्यहाँ अप्रेसन नहुने भएपछि मनमोहन अस्पतालमा पुर्याएर फर्केका थिए । अर्थमन्त्री पौडेल जस्तै देखिएका कारण आन्दोलनकारीको निशानामा परे ।
टण्डन भन्छन् —मैले २३ गतेदेखि नै मेरो अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको थिएँ । त्यसैअनुसार उपचार भइरहे पनि दुई बिरामीको अप्रेसन गर्न संभव नभएकाले आफ्नै एम्बुलेन्समा राखेर मनमोहन अस्पतालमा लादै थिएँ ।
घाइतेलाई अस्पताल पुर्याएर फर्कने क्रममा अर्थमन्त्री विष्णु पौडेल भाग्यो भन्दै कुटे, एम्बुलेन्स पनि तोडफोड गरे’, उनले भने, ‘भीडमा कसैले नेता आयो भन्छन्, कसैले के भन्छन् तर केही समयपछि मलाई चिनेका केही युवा पुगेर उहाँ ग्रिनसिटीको अंकल हो भनेपछि ज्यान जोगियो ।’
‘यस्तो हुन थालेपछि भोलि कसैलाई समस्या पर्यो भने कसरी साथ दिनु ? कसले अगाडि सरेर सहयोग गर्छ ? मैले ती घाइतेहरुको भावना बुझेर थप उपचारका लागि गएको थिएँ तर उल्टै ममाथि नै आक्रमण भयो’ उनले भने, ‘आन्दोलनकारीले चिन्दै नचिनी यसरी जाइलागे ।’
उनले भने, ‘नेताको अनुहारसम्म नदेखेका आन्दोलनकारी साच्चै जेनजी थिए भनेर कसरी विश्वास गर्ने ? फलानो मान्छे यही हो है भनेकै भरमा कति सर्वसाधारणले पिटाइ खाएछ्न् र कतिका सम्पत्ति नष्ट भएछ भनेर आंकलन गर्न सकिन्छ । धन्न आन्दोलनकारीहरुकै भिडमा उहाँलाई चिन्ने केही युवक पनि रहेछन् र ज्यान बचेछ । घुसपैठ गरेका, चोर्न आएका यस्ता अपराधीहरुलाई कडाभन्दा कडा कारवाही होस् ।’
‘मैले अस्पतालमा कति जना घाइतेको उपचार गराएँ भन्ने रेकर्ड छ । २४ गते बिहान ८ बजे रगत अभाव भयो भनेर आकस्मिक रक्तदानमार्फत २१८ प्वाइन्ट रगत संकलन गरेको थिएँ ।
उनको शरिरमा देखिने ठूलो घाउ त छैन तर निर्घात कुटिएका कारण बाहिर हिंड्न सकेका छैनन् ।अहिले टन्डन उपचार गरेर घरमा आराम गरेका छन् ।
