नागढुंगा सुरुङमार्ग दसैँमा किन सञ्चालनमा ल्याइएन ?

२४ असोज,काठमाडौं ।सरकारले चाडपर्वको समयमा हुने सवारीको चापलाई मध्यनजर गर्दै दसैँअघि परीक्षणको रूपमा नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दसैँअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए ।
उपत्यकाबाट बाहिरिँदा खुला गर्ने तयारी पनि भएको थियो । तर सवारी सञ्चालनका लागि दशैंका बेला खुला गरिएन ।

निर्माण कम्पनी र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण सम्पन्न नभएकाले सञ्चालनका लागि स्वीकृति नदिएपछि सञ्चालन गर्न नसकिएको आयोजनाले जनाएको छ ।

जापानी सरकारबाट नेपाल सरकारलाई औपचारिक रूपमा आयोजना हस्तान्तरण नभइसकेको र सुरक्षा संवेदनशीलतासम्बन्धी कामहरू बाँकी रहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयले जनाएको छ।

दसैँमा परीक्षणका लागि सञ्चालनमा ल्याउने भनिए पनि आधिकारिक रूपमा नेपाल सरकारको मातहतमा आइनसकेको र सुरुङमार्गको पश्चिम पोर्टलतर्फको पहिरो रोकथामको काम पनि वर्षाका कारण रोकिनुका साथै सुरुङ खुला गर्नुअघि सुरक्षाका सम्पूर्ण संवेदनशील पक्षहरू तय नभएकाले सञ्चालन गर्न नसकेको बताइएको छ ।

नागढुंगा सुरुङमार्गको हालसम्म ९५.५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग (टनेल) निर्माण गरिएका छन् ।धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौँ नागढुङ्गामा निस्कन्छ । मुख्य टनेलको लम्बाइ २ हजार ६८८ मिटर छ । यो २०८१ वैशाख ३ गते ब्रेकथ्रु भएको थियो ।

अझै पश्चिम पोर्टलको पहिरो नियन्त्रण, परीक्षण, टोल बुथ निर्माणलगायत काम बाँकी छन् ।सुरुङमार्ग खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिने तयारी गरिएको छ । यसका लागि सार्वजनिक खरिद निर्देशिका २०८२ जारी भइसकेको छ ।

सुरुङ सञ्चालनका लागि ठेक्का प्रक्रिया तिहारअघि नै खुलाउने तयारी भइरहेको जनाइएको छ ।