
२ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ ।
शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल गरिएको सरकारको भनाई छ । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्रालयले जनाएको छ ।
आज आइतबारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।भने,बैठकले एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने बताइएको छ ।
गृहमन्त्री अर्यालले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका छन् । यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव छन् ।
सो समितिले बनाएको सुरक्षा योजना कार्यान्वयन गर्न प्रत्येक जिल्लामा पठाइने र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ ।
