रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

सीता पौडेल

काठमाडौं। महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतना फैल्याउनुका साथै क्यान्सर पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले रोटरी क्लब अफ काठमाडौं नर्थले  निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सम्पन्न गरेको छ ।

‘लक्षण देखिनु अघि नै जाँच गरौं : स्वस्थ जीवन बाँचौं ’ भन्ने नाराका साथ क्लबले ‘नेपाल अबुर्द रोग निवारण संस्था’ (एनसीआरएस) काभ्रे शाखासँगको समन्वयमा ‘अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसन’ (एनएसीसीएफ) को प्राविधिक सहयोगमा १ दिने निःशुल्क भीआइए परिक्षण र स्तन क्यान्सर परिक्षण शिविर हालै आयोजना गरी सम्पन्न गरेको क्लबका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए ।

आगामी रोटरी वर्षका लागि निर्वाचित प्रेसिडेन्ट सीता पौडेलको संयोजकत्वमा सम्पन्न भएको उक्त शिविर काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १ का महिलाहरुलाई लक्षित गरेर आयोजना गरिएको पनि प्रेसिडेन्ट थापाले बताए ।

संयोजक पौडेलका अनुसार ‘ रानीवन समुदायीक भवन’ मा संचालन भएको सो शिवर व्यवस्थापनमा  ‘इचंगुनारायण (रानीवन) जग्गा एकिकरण आयोजना (दोस्रो) उपभोक्ता समिति’, स्थानीय  ‘गणेश मन्दिर महिला समुह’ र रोट¥याक्ट क्लब अफ काठमाडौं नर्थले सहयोग गरेका थिए ।

वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. कस्तुरी मल्ल लगायतको स्वास्थ्यकर्मीको टोलीद्वारा भीआइए प्रविधिबाट परिक्षण गरिएको सो शिविरबाट एक सय जना स्थानीय विवाहित महिलाहरुले प्रत्यक्ष लाभ लिएको संयोजक पौडेलले जानकारी दिइन

जस मध्येमा ८९ जना महिलाहरुको भीआइए परिक्षण गरिएको र ११ जना महिलाहरुले विषेश परिस्थितिको थप परामर्श लिएको पनि उनले स्पष्ट पारिन् ।

उक्त शिविरमा परिक्षण गर्ने ८९ जना महिलामध्ये भीआइए पोजेटिभ देखिएका ३ जनालाई थर्माकोयार्गुलेशन  विधिबाट त्यहि उपचार गरिएको थियो र आङ खस्ने समस्या भएका ६ जना महिलाहरुलाई आवश्यक कसरत विधि (केगल एक्सरसाइज) र परामर्श सेवा प्रदान गरिएको थियो ।

परिक्षण गराएका मध्येमा ४० प्रतिशतमा सामान्य संक्रमण देखिएकाले निःशुल्क औषधी पनि प्रदान गरिएको थियो ।

यस्तै स्तन परिक्षण गराएका मध्येमा १२ जना महिलाहरुमा स्तनमा समस्या (गाँठागुँठी) देखिएकाले सम्बन्धित औषधी उपचारसँगै थप उपचारका लागि सम्बन्धित ठाउँमा रिफर गरिएको पनि शिविरमा संलग्न डा. मल्लले जानकारी दिइन

डा.मल्लका अनुसार सो शिविरमा पाठेघर फालिसकेका र स्तनमा समस्या भएर स्तन नै फाल्नु बाध्य भएका महिलाहरुले थप परामर्श समेत लिएका थिए ।

पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको समयमै पहिचान गर्न यौन क्रियामा संलग्न हरेक महिलाले समय समयमा परिक्षण गरिराख्नु पर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डा.मल्लको सुझाब छ ।

महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मात्रै पनि प्राणघातक रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।निःशुल्क परिक्षण गरिए पनि शिविरका लागि आर्थिक व्यवस्थापन आयोजक रोटरी क्लब अफ काठमाडौं नर्थले नै गरेको थियो।

क्लबले शिविर संचालन गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्ति,संघ,संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको जनाएको छ।क्लबले आफ्नो स्वास्थ्यप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ ।

संसारबाट पोलियो उन्मूलन गर्ने प्रकृयामा रोटरीको विशेष भूमिका रहेको छ ।रोटरीले ठूल्ठूला अस्पताल निर्माण तथा मेशिनरी सामाग्री हस्तान्तरणसँगै स्वास्थ्यका धेरै क्षेत्रमा निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

निजी स्वार्थ भन्दा माथि उठेर सामाजिक तथा मानवीय सेवामा समर्पित विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरुको संलग्नता रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले स्वास्थ्य क्षेत्रसँगै मानवीय तथा सामजिक विकासका अन्य क्षेत्रहरुलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आइरहेको देखिन्छ ।