
१ चैत्र, काठमाडौं । गत २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मतमा धेरै भिन्नता छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत कम छ ।
१२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ ।
राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो ।
यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा ३ लाख ६९५ पुग्छ । जबकि समानुपातिकतर्फ पाएको मत ३ लाख ८५ हजार ९०२ छ ।
एउटा सिट जितेको राप्रपाको प्रत्यक्षतर्फ १६३ क्षेत्रमा उम्मेदवार थिए । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख ७ हजार ६८ मत पुग्दछ । समानुपातिकतर्फ भने राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको छ ।
कांग्रेस–एमाले–नेकपालाई प्रत्यक्षमा भन्दा समानुपातिक कम छ ।
प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । सबै क्षेत्रका उम्मेदवारले प्राप्त गरेको मत १८ लाख ९३ हजार ४५३ छ ।
कांग्रेसबाट उठेका उम्मेदवारहरूले पाएको कुल मत भन्दा पार्टीले पाएको समानुपातिकतर्फको मत कम छ । समानुपातीकमा कांग्रेसले पाएको मत १७ लाख ५९ हजार १७२ छ ।
सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति गगन थापाले २२ हजार ८३१ मत पाएका थिए । यो क्षेत्रबाट कांग्रेसले जम्मा १८ हजार ८१ भोट ल्यायो ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा १८ हजार ७३४ मत पाए । झापा–५ मा एमालेले समाुनपातिक मत १७ हजार ६२३ मत पायो ।
९ क्षेत्रमा जितेको एमालेको १६४ क्षेत्रमा उम्मेदवार थिए । उनीहरूले प्रत्यक्षतर्फ पाएको मत १५ लाख ९२ हजार ६६४ छ । पार्टीले देशभरीबाट पाएको समानुपातिक मत १४ लाख ५५ हजार ८८५ छ ।
नेनेकपाले १६४ क्षेत्रमा उम्मेदवार उठाएको थियो । ती उम्मेदवारले प्रत्यक्षतर्फ ९ लाख ५६ हजार ९३९ मत ल्याए । जबकी पार्टीले पाएको समानुपातिक मत ८ लाख ११ हजार ५७७ छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट चुनाव लडेका थिए । १० हजार २४० मत ल्याएर उनी विजयी भए । तर, यो क्षेत्रबाट उनी नेतृत्वको पार्टीलाई समानुपातिकतर्फ ९ हजार ४४३ मत प्राप्त गर्यो । प्रत्यक्षमा नेकपाले आठ स्थानमा जितेको छ ।
कोशीमा रास्वपा एकातिर,बाँकी सबै अर्कोतिर अर्कोतिर रहेका छन् ।
