
१८ चैत, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार) देखि सुरु हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ।निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन्।
प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ। यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
