पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पनि रिहा

२६ चैत, काठमाडौं ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले रिहा गरेको छ।

हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए।

उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो।प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छाडेको हो ।