
१० जेठ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको बताएका छन्।
आइतबार एक कार्यक्रम मार्फत उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिए ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको हुनाले यसो गर्न लागिएको उनको भनाइ छ ।
विदेशी विश्वविद्यालयसम्वद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट पार्ने उनको भनाइ छ ।
उनका अनुसार शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको छ । त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्वद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन् ।
उनले भने, ‘फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूको बारेमा धेरै नै गुनासोहरू आउने गरेको छ । हामीले फाइनल ड्राफ्ट कानुन मन्त्रालयमा पठाइसकेका छौँ । सुरुमा अर्थ मन्त्रालय पठाएका थियौँ, अर्थ मन्त्रालयबाट टिप्पणीसहित फिर्ता आइसकेपछि त्यो कानुन मन्त्रालय जान्छ र त्यो मन्त्रिपरिषद्मा हामीले नियमावली बनाएर ड्राफ्ट तयार गरेर गरिसकेका छौँ ।’
उनले विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि पनि कार्य अगाडि बढाइसकिएको जानकारी दिए ।
