
जेठ,१७ पोखरा । गण्डकी प्रदेश दुई पांग्रे र चार पांग्रे राइड सेयरिङ साधनहरुको भाडा दर तोकेको छ ।
सो दर राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । दोस्रो पटक नियमावली पारित गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडादर निर्धारण गरेको हो।
निर्धारित भाडादर अनुसार चार पांग्रे र दुई पांग्रेमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ ।त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ ।२ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ ।आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको हो।
सो भाडा १५६.५ रुपैयाँ हुन्छ।तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ।चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जाने छ।
दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ ।यो रकम सुरुवाती यात्रा दूरीका लागि र प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ ।आधार भाडा १ किमीसम्म प्रयोग हुने र ४६.८५ रुपैयाँ लाग्नेछ ।
दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार,तोकिएको भाडा बाहेक अन्य कुनै थप शुल्क लिन पाइने छैन।
