नेपालको पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : अमेरिकी उपविदेशमन्त्री

१७ जेठ,काठमाडौं ।अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन,नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएइन्।

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको जिकिर गरिन्।

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको स्पष्ट पारिन्।उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन्।

उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन्।अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक,होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ।

रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सीमित नरही यसमा प्रविधि र सुरक्षाको भूमिका महत्वपूर्ण भएको बताएकी छन्।