
२४ जेठ,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार थप तत्पर रहेको बताएका छन् ।
भारतीय च्यानल ‘एनडिटिभी’सँगको विशेष संवादमा उनले रास्वपा स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको जिकिर समेत गरे। दुई देशको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न सरकार तत्पर रहेको विषयलाई उनले थप स्पस्ट पारे ।
नेपाल र भारतबीचको खुला सीमानाका कारण दुबै देशको सुरक्षाको सरोकारलाई नेपालले आत्मसात् गरेको गर्दै आएको र यो बहुआयामिक हार्दिक सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने आवश्यकता रेहेको पनि मन्त्री खनालले स्पष्ट पारेका छन्।
भारतीय समकक्षी एस जयशङ्करसँगको भेटवार्ताको जानकारी दिंदै उनले यथासम्भव सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने जिकिर गरे ।विशेषगरि व्यापार,ऊर्जा,पूर्वाधार,शिक्षा,स्वास्थ्य,प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा भारतको सहयोग,लगानी र सहकार्यको अपेक्षा र विश्वास व्यक्त गरे ।
उनले भने, “हामीले विगतका कुरा लिएर आएका छैनौँ । विगतमा हामीले दुई ठूला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो,त्यति सकेनौँ ।अब भने,पारस्परिक लाभ,सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौँ,हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ ।”
नेपालमा रेलमार्ग विस्तार,शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको थप विश्वास छ।
परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री डा. एस जयशंकर ,भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायत विभिन्न कुटनितिज्ञहरुसँग पनि भेटवार्ता गरेका छन्।
