आजको प्रतिनिधि सभा बैठक बजेट केन्द्रित हुने

२५ जेठ,काठमाडौँ ।सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठक आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमा केन्द्रित हुने बताइएको छ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ।

अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक समेत सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘विनियोजन विधेयक, २०८३ सदनमा पेस गर्नेछन् ।

यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक,२०८३’ पनि संसद्मा पेस प्रस्तुत हुनेछन् ।

बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीसम्बन्धी प्रस्तावसमेत पेस हुनेछन्।राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक,२०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

त्यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी,१९४७ (नम्बर ८१०’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्ने कार्यसूची तय भएको छ।