
२२ असार, काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले देशभरका ५० हजार बालबालिकाको मुख स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘५० हजार स्माइल्स नेपाल’अभियान सञ्चालन गर्ने भएको छ।
रोटरीको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र बीएम फाउन्डेसनसँगको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागेको हो ।
उक्त अभियान १ जुलाई २०२६ देखि ३१ जुन २०२७ सम्म सञ्चालन हुने बीएम फाउन्डेसनका अध्यक्ष एवम् रोटरी डिस्ट्रिक्टको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य डा.बुद्धिमान रोटरीयन डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
अभियानअन्तर्गत देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने परियोजना संयोजक समेत रहेका उनको भनाइ छ।
‘क्रिएटिङ लास्टिङ इम्प्याक्ट थ्रु ओरल हेल्थ’ भन्ने नारासहित सञ्चालन हुने सो अभियान अन्तर्गत ग्रामीण तथा शहरी विद्यालयका विद्यार्थीलाई मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको पनि उनले स्पष्ट पारे ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का रोटरी वर्ष २०२६–२७ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रिन्सिपल प्रा.डा.रविन्द्रमान श्रेष्ठ,बीएम फाउन्डेसनका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठ तथा रोटरीको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका संयोजक दिनेशकुमार श्रेष्ठबीच अभियानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अभियानमा एक हजारभन्दा बढी शिक्षक,२५० भन्दा बढी विद्यालय र ५०० भन्दा बढी स्वयंसेवक सहभागी हुने अभियानकर्ताको भनाई छ ।
अभियानलाई जिल्ला स्तरको साझेदारी तथा अन्तर्राष्ट्रिय रोटरी साझेदारीमार्फत विस्तार गरिने जनाइएको छ। इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक तथा अन्य सहयोगमार्फत अभियानमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
फाउन्डेसनले सरकारी तथा सरोकारवाला निकाय, स्वास्थ्य संस्था,विद्यालय,दातृ निकाय र समुदायसँग सहकार्य गरी अभियान सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।
यसअघि पनि रोटरीले सन् २०२४–२५ मा यस्तै अभियान सञ्चालन गरेको थियो।
तत्कालीन डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुको कार्यकालमा कान्तिपुर डेन्टल कलेज र बीएम फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित अभियानमा ९० विद्यालयका २७ हजार ५४८ बालबालिकाको मुख स्वास्थ्य परीक्षण गरिएको रोटरी डिस्ट्रिक्टले उल्लेख गरेको छ ।
परीक्षणका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँतमा किरा लाग्ने समस्या देखिएपछि यस वर्ष अभियानलाई व्यापक बनाइएको आयोजकले जनाएको छ।
