रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

१४ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्याप्त बेथिति,कर्मचारीको मनोमानी र ‘सर्भर डाउन’ का नाममा सर्वसाधारणले पाइरहेको सास्तीप्रति सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले सरकारले चुस्त सेवा दिने दाबी गरे पनि व्यवहारमा नागरिकले ठुलो कष्ट भोग्नुपरिरहेको बताए।सांसद पौडेलले सरकारी कार्यालयहरूमा ‘सर्भर डाउन’ को समस्या एउटा गम्भीर रोगको रूपमा देखा परेको उल्लेख गरे ।

‘राहदानी निकाल्न जाँदा सर्भर डाउन, वडा कार्यालयमा सिफारिस लिन जाँदा सर्भर डाउन, नगरपालिका, यातायात र राजस्व तिर्न जाँदा पनि सर्भर डाउन,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘हामी डिजिटल युगको कुरा गरिरहेका छौँ, तर सामान्य सेवा पनि डिजिटल माध्यमबाट दिन सकिँदैन भने कसरी विश्वास गर्ने ?’

उनले यो समस्या दुई–चार मिनेट वा एक–दुई घण्टाको मात्र नभई हप्तौँसम्म रहने गरेको बताए । ‘यो प्राविधिक त्रुटि मात्र हो कि कसैको नियत ? शङ्काको सुविधा लिने हो भने मानवीय नियतले नै सर्भर डाउन गरिएको त होइन ? भन्ने प्रश्न उठ्छ,’ पौडेलले भने ।