कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन :उपाध्यक्ष पौडेल

रामेछाप।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन्।

एमाले कमजोर भयो भने देश पनि कमजोर हुने जिकिर गर्दै उपाध्यक्ष पौडेलले भने,‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ।नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’।

नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनलेदुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको र समाजलाई यसले निर्दिष्ट गरेको दिशातर्फ लैजानुपर्नेमा जोड दिए ।

उनले नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेर अगाडि बढिरहेको जिकिर गरे।‘अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको छ ।

अहिले पनि यो सरकार भत्काउन विभिन्न कोसिस भइरहेको छ’,उनले भने,‘यो सरकारविरुद्ध कस्ता षड्यन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षड्यन्त्रलाई हामी एकएक गरेर तोडेर अघि बढ्नेछौं, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहनेछौं ’ उपाध्यक्ष पौडेलले भने

‘यो सरकार तोड्नुपर्छ भन्दै समीकरणमा नै रहेर भाषण गर्दै हिँड्नेहरू अहिले हामी यही सरकारमा रहन्छौं भनेर विज्ञप्ति निकाल्ने तहमा पुगेका छन्’।उनले भने, ‘यो सरकार २०८४ सालसम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन ।’उनले कांग्रेस र एमालेको एजेण्डा नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने पनि स्पष्ट पारे।

‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ,कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’। ‘२०८४ सम्म अहिलेकै सरकार जान्छ र २०८४ को निर्वाचनपछि नेकपा एमाले एकल बहुमत प्राप्त पार्टी बन्नेछ। नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ,जनताको लागि चाहिएको छ।’उपाध्यक्ष पौडेलले भने ।