दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने उनले स्पष्ट पारे ।‘हामी परीक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो‚ परीक्षा सुधार्न मेरो टिम लागिराखेको छ। परीक्षा क्यालेण्डर बनाउने,परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षा समयमै गर्ने हाम्रो योजना छ।’उनले भने।

हरेक दलको विद्यार्थी,कर्मचारी र प्राध्यापक संगठन भएकाले काम गर्ने योजनामा उनीहरुसँग नै अल्झिरहनु परेको दुखेसो पोख्दै उनले भने,‘सबैले स्वीर्कानुपर्ने कुरा के हो भने जति दल छन्,ती दलका विद्यार्थी संगठन,कर्मचारी संगठन र प्राध्यापक संघ पनि छन्। एक दिन एउटा पार्टीको आउँछ‚अर्कोदिन अर्कोको।त्यसैमा हामी धेरै अल्झिराख्नु परेको छ।’  ‘हामीले अनावश्यक रुपमा आफ्ना भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ।हिजो पञ्चायतकालमा आवश्यक थियो।अब सोच्नुपर्ने वेला आएको छ।’ उनले भने।

उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भए पनि अबका दिनमा शैक्षिक संस्थामा भ्रातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने टड्कारो अवश्यक्ता औंल्याए ।‘हामीले पनि शुद्धगरी, केही बायस नगरी विश्वविद्यालय सञ्चालन गर्ने भनेका छौँ। भागबण्डा लगाउनु हुन्न भन्ने कुरा छ। मैले तीतो सत्य भन्नैपर्छ, एउटा प्रोफेसर भागबण्डाको नाममा एउटा लेक्चररको मातहतमा काम गर्नुपर्दा प्रोफेसरले कुन मन लिएर कक्षामा जान्छ?‚’
उनले भने‚ ‘त्यसैले राजनीतिबाट मुक्त नगराउँदासम्म विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गर्न अफ्ठ्यारो महशुस गरेको छु। विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त विदेशी कलेजहरु छन्। न तिनको कोटा छ‚ न गुणस्तरीयताको अनुगमन हुन्छ। निश्चित संयन्त्र तयार गरेर तिनीहरुलाई नियन्त्रण गर्नुपर्छ।’

त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षालगायतका परीक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने उनको भनाई छ ।