मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।जसका कारण गण्डकी,बागमती,लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।त्यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

उता राति पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै भोलि सोमबार पनि देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ रहेको छ।साथै तराईका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।