
गण्डकी । पदयात्राका लागि प्रसिद्ध मानिएको अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटकले भ्रमण गरेका छन् । पर्यटन विभागको तथ्यांकअनुसार गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।
सो अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजनाले जनाएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
