तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गरेको स्थानबाट इन्टरनेटको तार हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाका पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने र इन्टरनेटको तारसमेत हटाउन प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै ती स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिएको हो ।