
काठमाडौं । सरकार–सरकारबीचको (जीटूजी)सम्झौता मार्फत भारतबाट रासायनिक मल अर्का महिना नेपाल आउने भएको छ ।
मंगलबार रासायनिक मलको वर्तमान अवस्थाबारे जानकारी दिँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजीतर्फको २५ हजार मेट्रिक टन डायमिनयम फस्फेट (डीएपी)सोमबारदेखि स्रोत मुलुकबाट चलान हुने र असारको पहिलो हप्तादेखि नेपाल भित्रिने जनाएको हो।
मन्त्रालयका अनुसार ५१ हजार मेट्रिक टन डीएपी र ३६ हजार मेट्रिक टन युरिया विशाखापट्टनमबाट नेपालतर्फ निर्यात हुने क्रममा छ।२० हजार मेट्रिक टन डीएपी र ७ हजार मेट्रिक टन युरिया भारतको कोलकाताबाट यही हप्ता नेपाल भित्रिन थाल्नेछ।चालु आर्थिक वर्षमा ३ लाख ६३ हजार ११७ मेट्रिक टन मल आयात भइसकेको उल्लेख गरेको छ ।
हाल दुवै कम्पनीसँग युरिया ७८ हजार ३३९ डीएपी ९ हजार १४९ र पोटास ११ हजार ७३६ गरी ९९ हजार २२५ मेट्रिक टन मल मौज्दात छ।
चालु आर्थिक वर्षमा ३ लाख ३३ हजार ७२१ मेट्रिक टन मल बिक्री भइसकेको मन्त्रालयले जनाएको छ।चीनबाट समेत २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट भइसकेको र असारको दोस्रो हप्ताबाट नेपाल आउने कृषि मन्त्रालयले जनाएको छ।
सरकारले छुट्याएको अनुदानित रासायनिक मलको बजेटअनुसार कृषि सामग्री लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरिद गरी बिक्री गर्दै आएका छन्।भने,देशभर मलको माग ५ लाख २० हजार मेट्रिक टनभन्दा बढी रहेको छ ।तर कृषि सामग्री र साल्ट ट्रेडिङबाट भएको बिक्रीको आधारमा देशभर वार्षिक करिब ७ लाख मेट्रिक टन मल आवश्यक रहेको अनुमान गरिएको बताइएको छ।
भारतले जीटूजीमार्फत पाँच वर्षसम्म नेपाललाई युरिया र डीएपी मल उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो।२०७८ फागुन १६ गते पहिलो वर्ष एक लाख टन युरिया र ५० हजार टन डीएपी दोस्रो वर्ष १ लाख ७० हजार तेस्रो वर्ष १ लाख ९५ हजार टन चौथो र पाँचौँ वर्षमा २ लाख १० हजार टन मल उपलब्ध गराउने समझदारी भएको थियो।
सरकारले चालु आर्थिक वर्ष २०८०र८१ का लागि किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट छुट्याएको जनाएको छ।
