काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरलाई व्यवस्थित गराउन विभिन्न सुधारका कामहरु गर्दै आएका छन् ।
ती कामहरुमध्ये हाल महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरुमा सबै पम्पहरुले एउटै संकेत रङ्ग (पहेँलो) राख्ने र निःशुल्क शौचालयलाई व्यवस्थित बनाउने काम गरिसकेका छन् ।
तत्काल सुुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय र पट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा दिएको सुझावका आधारमा काम अघि बढाइएको थियो ।
हाल महानगरभित्रका ५० वटा पम्पहरुले सबैका लागि सफा शौचालय निःशुल्क रुपमा उपलब्ध गराएका छन् । यसको संकेत चिन्हका रुपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखेको छ ।
यस्तै, भाडाका सवारी साधनका चालक तथा सहचालकले आफूखुसी रुपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाएको छ ।
यसअघि पम्पहरुमा हरियाली नदेखिएको, भएका गमलामा समेत फूल नभएको, अग्नि सुरक्षा उपकरणको सञ्चालन विधि तथा उपकरणको कामका बारेमा शिक्षा र प्रयोग विधि थाहा नपाएको, पम्पको भित्ताहरुमा विभिन्न ब्राण्डका विज्ञापन तथा भित्ते लेखेर कुरुप बनाइएको थियो । साथै पम्पहरुमा पर्याप्त शौचालय र युरिनल पनि थिएनन् । यी अवस्थाहरुको समेत सुधारका कामहरु भइरहेका छन् ।
इन्धन भर्न बस्ने नोजल ब्वाईको सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक तथा सामग्री (पीपीई) लगाउने प्रतिबद्धता समेत कार्यान्वयनको चरणमा छ ।
हाल काठमाडौँ जिल्लाभित्र मात्र ११३ वटा पम्पहरु सञ्चालनमा छन् ।
काठमाडौँ महानगरभित्रका ५० वटा पम्पहरुमा कम्तीमा दुईदेखि छ वटासम्म शौचालयहरु सर्वसाधारणका लागि निःशुल्क रुपमा खुला गरिएका छन् ।
पम्पहरुको पहिलो चरणको सुधार अन्तर्गत काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र नगर प्रहरी बलको नेतृत्वमा नेपाली सेनाका भद्रकाली र सितापाईलामा रहेका पेट्रोल पम्पमा कार्यरत ३० जना सेनालाई जेठ ८ गते आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइएको थियो ।
यस्तो छ पम्प सञ्चालनको आधारभूत मापदण्ड
‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ (प्रथम संशोधन सहित’ अनुसार काठमाडौँ र ललितपुर महानरभित्रका पेट्रोलपम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा एक रोपनी आठ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । विक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।
पेट्रोलियम पदार्थको विक्री क्षेत्र, विक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ ।
पम्प खुलेको समयमा शौचालय बन्द रहेको पाइएमा काठमाडौं महानगरपालिकाको निःशुल्क हटलाइन नम्बर ११८० मा कल गरेर गुनासो टिपाउन अनुरोध गरेको छ ।
