काठमाडौँ । शेयर बजारबाट संकलित पुँजिगत लाभकर २५ प्रतिशतले घटेको छ । धितोपत्र बोर्डका अनुसार बैशाख महिनामा पुँजिगत लाभकरमा गिरावट आएको हो ।
बोर्डका अनुसार दोस्रो बजारबाट वैशाख महिनामा कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।
वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो ।
बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा नाफाबाट ७.५ प्रतिशत तथा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।
