चोभार सुख्खा बन्दरगाहः निर्यात शून्य, आयात मात्र

काठमाडौँ । काठमाडौंको सुख्खा बन्दरगाहबाट नियमित आयात भएपनि निर्यात भने शून्य देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनाको अवधिमा सो सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार नेपालको कुल आयातमध्ये ०.०६ प्रतिशत वस्तु आयात भएको छ । चोभारबाट साउन–वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

१० महिनामा देशभर कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको भएको छ ।

नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो । यस भन्सारबाट २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्त निर्यात भएको छ । जुन कुल निर्यातको २०।१९ प्रतिशत हो ।