
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारीले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनको घरमा सुसाइड नोटसमेत फेला परेका र त्यसमा आफ्नो मृत्युको जिम्मेवार आफैं रहेको उल्लेख गरेको प्रहरीले बताएको छ ।
प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन भने आउन बाँकी छ ।
पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए ।
विशेष अदालतले जेठ ११ गते तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।
उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अरु ५ जनाले भने सफाइ पाएका थिए ।
