प्रमुख दलका नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । टीओआरमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको बताइएको छ । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने एक नेताले बताए ।

दुवै पक्षका प्रस्तावबाट मध्यविन्दु पहिल्याएर सदनको अवरोध हटाउने उनीहरूको भनाइ छ । समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्नेबारे सत्ता र प्रतिपक्षबिच विवाद कायमै छ ।