गण्डकी प्रदेश सभा १५ गतेसम्मका लागि स्थगित

पोखरा । बैठकमा नेपाली काँग्रेस र राप्रपाका नेता उपस्थित नभएपछि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ ।

प्रदेश सभाको अर्काे बैठक जेठ १५ गते १ बजेसम्म बस्ने सभामुख कृष्णप्रसाद धितालले बताए । गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । आजको बैठकमा राप्रपाका २ सांसद पनि अनुपस्थित भएका थिए ।

मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रदेश प्रमुख डिल्लीराज भट्टबाट आएको पत्र पढेर सुनाएपछि प्रतिपक्षी दल नै अनुपस्थित रहेकाले बैठक स्थगित गरिएको सभामुख धितालले बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जना सदस्यलाई नै बहुमत मानेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका छन् । सर्वोच्चले जेठ १४ गतेका लागि पेशी तोकेको छ ।