सहकारी ठगी प्रकरणबारे छानबीन गर्न गठित कार्यदलको बैठक आज पनि

काठमाडौं । सहकारी रकम अपचलित मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको शुक्रबारको बैठक टुँगोमा पुग्न नसकेपछि आज पनि बस्न लागेको छ । दिउँसो तीन बजेका लागि कानून मन्त्रालयमा बैठक बस्न लागेको हो ।

काँग्रेसले गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको दाबी गर्दै आएको छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।

सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए ।

कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो ।