काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २३ लाखले बढेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या चार करोड २१ लाख १८ हजार पुगेको हो ।
चालु आवको असारसम्ममा ३ करोड ९८ लाख ८ हजार रहेको तथ्यांकले देखाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतीपत्र प्राप्त विभिन्न सेवा प्रदायकमार्फत उपलब्ध डेटा–इन्टरनेट सेवा लिनेहरूको संख्या मासिक साँढे २ लाखले थपिएको देखिन्छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डेटा–इन्टरनेट प्रयोग गर्नेको संख्या गत फागुनसम्म २ करोड १५ लाख ६९ हजार छ । त्यस्तै, एनसेलको डेटा ७८ लाख ९१ हजारले प्रयोग गरेका छन् भने विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमार्फत १ करोड २६ लाख ५९ हजारले इन्टरनेट सेवा लिने गरेको सर्वेक्षणमा उल्लेख छ ।
तथ्यांकअनुसार २०७७ सालको असारमा डेटा तथा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ३८ हजार थियो । २०७८ सालको असारमा ३ करोड ८४ हजारले डेटा–इन्टरनेट प्रयोग गर्नेमा २०७९ असारमा यो संख्या बढेर ३ करोड ८४ लाख २१ हजार पुगेको थियो । आर्थिक सर्वेक्षण २०८०–८१ का अनुसार विगत पाँच वर्षमा नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । यस अवधिमा डेटाइन्टनरेट चलाउनेको संख्या १ करोड ९८ लाख ८० हजारले वृद्धि भएको देखिन्छ ।
