काठमाडौँ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शैलीका दोहोरी गीत बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी दिएको छ।
प्रतिष्ठानले आज आइतवार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका गीतले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत प्रहार भएको व्यापक जनगुनासो आएपछि ध्यानाकर्षण भएको जनाइएको छ ।
समाजमा अराजकता फैल्याउने शैलीका यस्ता गीत बन्द गर्न कलाकार,स्टुडियो,युट्युब च्यानल सञ्चालक लगायत सम्बन्धीत सबैलाई सचेत गराउँदै प्रतिष्ठानले भनेको छ,‘विशेषतः पछिल्लो समयमा विभिन्न युट्युब च्यानल लगायतका सामाजिक सञ्जालहरूमा देखिएका प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ’।
‘यस प्रकारका अराजक प्रवृत्तिको घोर भर्त्सना गर्दै संस्कृति माथि हुने अतिक्रमण एवम् अराजकता तत्काल बन्द गर्न गराउन सम्बन्धित कलाकार,स्टुडियो,युट्युब च्यानल सञ्चालकहरूलाई सचेत गराइन्छ ।’ विज्ञप्तीमा उल्लेख छ।
प्रतिष्ठानका अध्यक्ष रिता थापामगर,विकृति विसंगति न्युनिकरण विभागका संयोजक शिव हमाल र सह–संयोजक घनश्याम रिमालको हस्ताक्षर रहेको विज्ञप्तीमा प्रतिष्ठानले यस्ता गतिविधिलाई दोहोर्याएमा सेवा सुविधाबाट समेत वञ्चित गर्ने चेतावनी दिइएको उल्लेख छ ।

