भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराध हुन थाल्यो : महामन्त्री शर्मा

काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न सरकारमा संगठित अपराध जस्तो प्रवृत्ति देखा पर्न थालेको बताएका छन्।

आइतवार सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं उपत्यका स्तरिय प्रदर्शनका क्रममा भृकुटिमण्डपमा भएको खुल्ला सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए।

ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश,श्रमजीवी,नागरिकको चिन्ताको बारेमा नभई सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको आरोप लगाए।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरी बन्धु टी स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप महामन्त्री शर्माले लगाएका छन्।

उनले भने, ‘भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न संगठित अपराध जस्तो प्रवृत्ति प्रस्तुत हुन थालेको छ। पूर्वप्रधानमन्त्री केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा बोकेर देखिनुभएको छ। एउटाले सहकारीमा ड्याम्मै काँध हाल्ने र अर्कोले गिरीबन्धुमा काँध हाल्ने। त्यसैले आज हामीले नामकरण गरेका छौँ।यो गठबन्धनको एउटाले सहकारी र गिरी बन्धु भन्ने। मिलाएर यो सहकारी बन्धु गठबन्धन हो।’

 सरकारविरुद्ध गरिएको प्रदर्शनका क्रममा उनले ओलीका कारण संसदीय छानबिन समिति बन्न नसकेको जिकिर गरे।

सहकारी पीडितको रकम फिर्ता,संसदीय छानबिन समिति गठनको माग गर्दै काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन र खुल्ला सभा गरिएको नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताएका छन्।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई सदन र सडकबाट वहिष्कार गर्नुपर्ने आवाज चर्काउँदै आएको छ।