काठमाडौं । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरु र सहकारी अपचलन छानबीन समितिको कार्यदलबीच केही बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी रहेको बताइएको छ ।
यस्तै, नेकपा (एमाले)बाट कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम् वाग्ले र प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी छन्।
सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ। कार्यादेशमा भने अझै कुरा मिलेको छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।
