
काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि नेपालमा रेमल चक्रवातको प्रभाव कायम नै छ । जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
