सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि धनुषाको जनकपुरस्थित काब्या अस्पतालमा उपचाररत उनलाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । सो अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।

सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए । सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ ।

उनलाई कुन अस्पतालमा राख्ने भन्ने परिवार स्रोतले खुलाएको छैन । जिल्ला अदालत धनुषाले उनलाई तीन पटक तीनतीन दिन म्याद थप गरेको थियो ।