पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

काठमाडौं । पर्यटकको संख्या बढ्दै गएपछि अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पहिले शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्दै आइएको उनले बताए ।

उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’