त्रिवि क्रिकेट मैदानका लागि ६० करोड विनियोजन

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ६० करोड विनियोजन गरेको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज क्रिकेट मैदानको अवलोकन गर्दै स्तरोन्नतिका लागि मन्त्रालयले बजेट विनियोजन गरेको बताए ।

मन्त्रालयले कीर्तिपुर, मूलपानी र दशरथ रंगशालाको कुरा गरेपछि बजेट निकासा गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । त्यही अनुरुप आज फिल्डमा गएर अवलोकन गरिएको उनले बताए । आफूहरुको मुख्य ध्यान नै दर्शकलाई खानेपानी र शौचालयको सुविधा उपलब्ध गराउनु रहेको उनको जिकिर छ ।

मन्त्री श्रेष्ठले क्यानलाई भारतले २० करोड सहयोग दिने उल्लेख गर्दै त्यो रकमलाई कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

मन्त्री श्रेष्ठसँगै मन्त्रालयको टोली र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव टंकलाल घिसिङले त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका थिए ।

विदेशमा खेलाडीहरूको एकेडेमीका लागि त्यहाँका होटेल व्यवसायीले संरचना बनाइदिने र त्यसबाट आफ्नो व्यावसायिक प्रचार गर्ने चलन देखिएकाले आफूहले पनि एकेडेमीका लागि हान (होटेल एसोसियसन अफ नेपाल)लाई अनुरोध गर्ने प्रक्रियामा रहेको उनले बताए ।