
बिष्णु गिरी ‘निश्चल‘
काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन।सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिक मात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो,धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो।
एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु प¥यो।तर,मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौंबाट निस्कयौ।
प्राईभेट बिद्युतिय गाडिमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ्ग यात्राको लागि अर्को गाडिको व्यवस्था फोनमार्फत नै गरिएको थियो।यात्रा शुरु भयो।तिता मिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गदै गाडिको रफतारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौ।पैसा तिरेर खाना खाएपनि हामीले राम्रो आतिथ्यता पायौ।
रातीको ३ बेज पोखरा पुगियो पोखराको नाईट लाईफ नेहेरी निन्दै लागेन र लाउन्ज गईयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङ्गको लागि हिडियो।पाको उमेरका अनुभवि सवारी चालक हरी ढकालको साथमा यात्रा गरेका थियौं।बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो।बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो।ठूलो आस्था रहेछ,त्यहाँका बासिन्दामा भगवतीप्रति।
मैले पहाडी क्षेत्रमा यति राम्रो व्यवस्था भएको पाएको थिइन।व्यवस्था राम्रो भएकाले सजिलोसँग भरपुर दर्शन गरियो।साथै,गलेश्वर महादेवको दर्शन गरेर हामीले बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ।बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ ।फर्किदा त्यहाँ बस्ने योजनाका साथ हामी अगाडि बढ्यौ ।बाटोमा लोकल दही र केरा खादै हाम्रो यात्रा अगाडि बढ्यो।
रमाइलो गफ कहिले संस्थागत र व्यवसायिकताको कुरा गदै र बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो।कालीगण्डकी नदी तिब्बतबाट निस्किएर आएको चट्टानले बनेका गगनचुम्बी पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ।चट्टानले बनेका गगनचुम्बी पहाडहरूको खोँचबाट नदी दक्षिणतर्फ बगेको रहेछ।
कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो हिमाली क्षेत्र चिसो स्वभाविकै थियो।कालीगण्डकीको किनारैे किनार सिधैं उत्तरतर्फ मोटर बाटो।बीच बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो।ती दृश्यहरु अत्यन्त लोभलाग्दा थिए।
ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो।हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको रहेछ।अजगंका ती पहाडहरु कुम्भकर्ण झै चीरनिद्रामा छन्।काठमाडौं आसपासमा झै खानी संचालनको नाममा ती जताततै चिथोरिएका छैनन्।अनन्त सौन्दर्य पस्किरहेका छन्।
पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन।त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं।साथमा मिठा जोक र रमाईलो कुराकानी त छदै थियो,रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो। माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो।
झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिए जस्तै उसको तस्वीरहरु चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्को रमाईलो क्षण बन्यो।झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरना जस्तै लाग्थ्यो।नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो।हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरु भरिदियो।
टुकुचे,मार्फामा केही समय हामी घुम्यौ टिकटक बनायौ र यात्रा जोमसोममा गएर रोकियो। मुस्ताङ्गको सदरमूकाम जोमसम भएपनि ठूलो रहेनछ।सेवाग्राही कमै होलान्।सरकारी अड्डा धाउने भन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी।गरेकै छन्।
लोडसेडिङ्ग रहेनछ।हामीले त्यही बस्ने र भोली पल्ट मुक्तिनाथ दर्शन गर्ने योजना बनायौं।साँझ मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कडेल र आशिष भण्डारीले गाउँपालिकामा बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताव आयो ।त्यो अवसरलाई हामीले गुमाउन चाहेनौ।
भोलीपल्ट जेष्ठ ११ गते कार्यक्रम गर्ने र त्यसको चाजोँपाजो मिलाउने जिम्मा प्रदिप जीलाई दिईयो।राती मिठो मुस्ताङ्गे खानाको स्वादसँगै भोली मुक्तिनाथ दर्शन गर्ने मनोकान्छा बोकेर निन्द्रादेवीको सरणमा गईयो।भोलीपल्ट बिहानै सबैर यात्रा शुरु गरियो किनकी मन्दीर दर्शन गरि हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङ्गको पनि यात्रा गर्नु थियो।
निलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए।त्यहाँ धौलागिरि र निलगिरि हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं।धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरि आकाशझैं निलो थियो।
त्यसपछि हामी मुक्तिनाथ पुग्यौं।मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर थियो।भगवान नारायणको बासस्थान।त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन,अत्यन्त सुन्दर।त्यसैले होला माहात्मा,साधुसन्त, भक्त प्रशासक,राजनीतिज्ञ,उद्योगी,व्यापारी,कलाकार,सर्वसाधारण सबैको आस्थाको पुञ्ज।
मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए।माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो।हामी चाहिं माथिसम्म हिँडेरै जान तयार भयौं।ससाना पाइला चाल्दै हामी माथि पुग्यौं।धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए।
मन्दिरको अगाडिपट्टि दुइवटा कुण्ड थिए।मन्दिरको पछाडिपट्टि १०८ धारा थिए। हामीले पनि छिटोछिटो गरेर १०८ धाराको जलले स्नान ग¥यौं।टाउको खाने चिसो भएकाले दौडीदौडी कर्म पुरा गर्नुपर्दाे रहेछ।त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे,चिसोको पर्वाह नगरी हामीले पनि डुबुल्की मा¥यौं।
मुक्तिधाम अगाडीको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं ।पुजा भक्ति र प्रेमभावले आ–आफ्नो मूल्य,मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो।धेरै फोटो खिचियो। कति धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो।फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धित मरुन्जेल भगवानको समीपमा बसियो।माथी नारायणको मन्दिर,तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ?सत्य थियो,त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको।
भित्रदेखिनै आनन्द लागेर आयो।त्याहीं बसेर सेवा गर्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउथ्यो।प्रकृतिको त्यो अनन्त स्वादपान गरेर।हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ।३८१० मीटरको उचाईमा रहेको यो मन्दीरको वर्णन गरेर नसकिने रहेछ।मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो।त्यसैले त मलाई भन्न मन लाग्यो–‘मुस्ताङ्ग’ मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो अनि धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझा थलो हो।
