
पोखरा।गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ।पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको सो मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिएका छन्।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको सो मेलाको होटल संघ नेपाल (हान)ले संयोजन गरेको छ।भने,नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्था सह–आयोजकका रुपमा रहेको उनले जानकारी दिए।
मेलाको श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ।मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने,विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिने छ।
मेलामा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ,वैदेशिक रोजगार बुथ,कल सेन्टर बुथ,लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु रहने आजोजकले जनाएको छ ।
मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद हुनेछ। सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा,सुरक्षित आप्रवासन,श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ। त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन्।
