नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए ।
उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।
उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए ।
बाँकेस्थित साइनिङ अस्पताल, ९आइएनएफ०का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।
