
काठमाडौं ।नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन नसकेको बताएका छन् ।
बुधवार ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले ६ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना भएको बताए।
छिमेकी राष्ट्र चिन र भारतको स्थीर सरकारको उदाहरण दिंदै उनले भने, “छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन।” महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको बताएका छन् ।
विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्ने उनको भनाई छ ।
२ सय जना प्रतिनिधि रहेको सो नगरकमिटीको दोस्रो अधिवेशनबाट ७५ सदस्यीय कमिटीका लागि नेतृत्व चयन हुँदै छ । सकेसम्म सर्वसम्मतीमा नेतृत्व गर्ने तयारी भएको एमाले महालक्ष्मी नगरकमिटीले जनाएको छ।
