ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

हिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।