नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा १२ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।सो यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बस चालक कोहलपुर(१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।